
भद्रपुर, ७ फागुन । झापाको भद्रपुरस्थित मेचीरंगशालामा आजदेखि ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करण शुरु हुँदैछ । आज प्रतियोगिताको पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस पटक मेची रंगशालामा ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’ हुँदैछ ।
आजदेखि फागुन १६ गतेसम्म आयोजना हुन लागेको दोस्रो संस्करणमा भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुने छन् ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछ । गोल्डकपको विजेताले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख प्राप्त गर्ने छन् भने गोल्डकप सम्पन्न गर्न रू एक करोड ७८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।


