
उर्लाबारी, २६ मंसिर । मोरङको उर्लाबारीमा सञ्चालित सातदिने आधारभुत पत्रकारिता तालिम समापन समारोहका वक्ताहरुले समाचारको विश्वासनीयताबाट मात्रै यस पेशाको मर्यादा बृद्धि हुने बताउनुभएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालद्वारा आयोजना गरिएको तालिम समापन समारोहका वक्ताहरुले मंगलबार यस्तो बताएका हुन् । उनीहरुले समाचारको विश्वासनीयताका लागि भरपर्दो स्रोतको खोजी गर्न पत्रकारहरु निरन्तर क्रियाशिल हुनुपर्ने सुझाव दिएका छन् ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पत्रकारिता पेशा मर्यादित भएको र यस पेशाको मर्यादालाई कायम राख्न पत्रकारहरुले सन्तुलित, निश्पक्ष र स्वतन्त्ररुपले कलम चलाउन सुझाव दिए । फागोले पत्रकारिता पेशा जिम्मेवार भएको उल्लेख गर्दै यस पेशाको स्तरबृद्धि गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तालिम समापन समारोहका विशिष्ट अतिथि उर्लाबारी–७ का वडाध्यक्ष बीरबल थापाले विश्वासनीय समाचारका लागि पत्रकारहरु निरन्तर क्रियाशिल रहन सुझाव दिए ।
क्लबका पूर्व अध्यक्ष रूपेन्द्र शेर्माले पत्रकारिता पेशा चुनौतिपूर्ण भएपनि उत्तीकै सम्भावाना र अवसरहरु रहेको धारणा राखे । पत्रकार लिलाराज खतिवडाले सहजीकरण गर्नुभएको सो तालिममा उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिकाका ३० जना प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममा क्लबका पूर्व अध्यक्ष घनश्याम भण्डारी, जगन्नाथ भट्टराई, रूपेन्द्र शेर्मा, मदनबाबु प्रसाई, केदार चौहान र पत्रकार मिलन के राउतले पनि सहजीकरणमा सहयोग पुर्याएका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

