
मोरङ, २४ फागुन । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोबाइल खोज तलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरेको छ ।
माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका–५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइल खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोबाइल, नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोवायल बरामद गरेको छ ।
मोबाइल चोरीको घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।


