भद्रपुर, २४ फागुन । झापाको भद्रपुर नगरपालिकामा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका भद्रपुर नगरपालिकाको आयोजना तथा नगरका विभिन्न संघसंस्थाहरुको समन्वयमा आज विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको हो । नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख पोखरेलले महिलाहरुको हक अधिकार स्थापित गर्न सरकारले विभिन्न ऐन कानून ल्याएको बताउनुभयो । महिला दिवसको शुभकामना दिनुहुँदै उहाँले महिला अधिकार स्थापित गर्न सबै भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै, उप्रमुख राधा कार्कीले नगरपालिकाले महिलाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुहुँदै आगामी दिन थप कार्यक्रमहरु ल्याउने बताउनुभयो । कुनै समय घरको चुलाचौकामा सीमित महिलाहरु अहिले हरेक क्षेत्रमा अब्बल सावित भएको उहाँकाले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला विशेष आतिथ्य रहेको थियो । त्यस्तै, सामाजिक विकास समिति संयोजक सीता ढकाल, समिति सदस्य द्रोणविक्रम कोइराला, जिल्ला प्रहरी महिला सेल प्रमुख प्रहरी निरीक्षक मेहेंगी तामाङ, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा किशोक–किशोरीहरुलाई यौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध सम्बन्धी अभिमूकीकरण (प्रशिक्षण) नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र प्रहरी निरीक्षक मेहेंगी तामाङले दिनुभएको थियो ।
दिवसकै अवसरमा झापा जिल्ला कारागारका महिला बन्दीहरुलाई कुर्सी र टेबुल फेन वितरण गरिएको छ भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका महिला बन्दीका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।

भोलि फागुन २५ गते मेची प्रादेशिक अस्पतालमा मार्च ८ तारिका दिन जम्नेका नवजात शिशुलाई कपडा र सुत्केरी आमालाई पोषणयुक्त खाना वितरण गरिने नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।
विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिबृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको लक्ष्य समेत रहेको छ ।
नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति नै लिएको छ ।



