
चन्द्र बस्नेत
कनकाई, २८फागुन । झापाको कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबल प्रतियोगितामा काँकरभिट्टाको महिला फुटबल टिम फाइनलमा पुगेको छ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बुधबार आज भएको पहिलो सेमिफाइनलमा खेलमा काकरभिट्टाको महिलाफुटबल टिम बारर्दशीको महिला फुटबल टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो ।

खेलको म्यान अफ द म्याच विजेता काकरभिट्टा टिमको जर्सी न ९ कि खेलाडी रितिका थापा घोषित भएसँगै उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । भोलि २८ गते बिहीबारको दोस्रो सेमिफाइनलमा कनकाई र शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।
