
झापा, २९ फागुन । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
फागुन २८ गते विराटनगर महानगरपालिका–५ स्थितमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप महानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी, सुनसरी धरान उप महानगरपालिका–१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई नगरपालिका–४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्थानीय ३३ वर्षीय इन्द्र चौधरी र उनको श्रीमती ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागु औषध गाँजासहित नियन्त्रणमा लिएको छ ।
