
झापा, ३ बैशाख । आन्दोलनरत शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले ४ बुँदे निर्णय गरेको छ । निर्णयसँगै उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वानसमेत गरेको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन अन्त्य गरी विद्यालय फर्कन भनेको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ।
शिक्षकहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री भट्टराईले बताइन् । एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिई शिक्षकहरूलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वा गर्ने निर्णय पनि बैठकले गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


