झापा, ६ बैशाख । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका–६ बनियानि चोक स्थितमा BR37 AE 6451 नम्बरको मोटरसाइकल चालक कचनकवल–५ का २८ वर्षीय कासिम मियालाई लागुऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका पाँचथरको कुम्मायक गाउँपालिका–३ का २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका–४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका–५ का २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको इनरुवा नगरपालिका–२ का २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका–२ का एक बालकलाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका–५ स्थितबाट सोही स्थानमा २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गर्न सफल भएको हो ।
यसका साथै मोरङको बिराटनगर महानगरपालिका–१५ स्थीत एक नम्बर ढाँटमा DOG Sniffing को चेकिङ टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३९ वर्षीय रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्रामसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको कानूनी प्रक्रिया भइरहेको छ ।



