वाशिंगटन, ७ बैशाख । अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । झापाली समाज–अमेरिकाको
आयोजनामा अमेरिकाको वाशिंगटन डीसी.स्थित होटल डबल ट्री हिल्टनमा यही अप्रिल ११ र १२ तारिख सो सम्मेलन सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा यहाँस्थित नेपाली दुतावासका नियोग उपप्रमुख शरदराज ऐरनको प्रमुख आतिथ्यमा भएको द्विदिवसीय सम्मेलनमा विश्वभरिबाट १५० बढी झापालीहरूको उपस्थिति रहेको महासचिव नगेन्द्र पोखरेल ‘नवीन’ले जानकारी दिनुभयो ।

झापाली समाज–अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले स्वागत र महासचिव सीता पाण्डे एवम् सचिव तोया पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू सहित भव्यताका साथ सम्पन्न भएको थियो ।
झापा जिल्लाको परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको सम्मेलनमा अन्तर्राष्ट्रिय झापाली समाजले हालसम्म गरेका विविध समुदायमुखी र परोपकारजन्य कार्यहरूको डकुमेन्ट्री समेत देखाइएको थियो ।
अप्रिल १२ मा ८ बुँदे घोषणा–पत्र जारी गर्दै सम्मेलन समापन भएको थियो ।

घोषणा–पत्रका बुँदाहरू—
१. अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय सम्मेलनलाई निरन्तरता दिंदै आगामी पाँचौं क्षेत्रीय सम्मेलन ओशनिया क्षेत्र अन्तर्गत अष्ट्रेलियामा आयोजना गर्ने,
२. अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्यवयनका लागि आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरू साथै अन्य विभिन्न संघ–संस्था, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने,
३. कतार घोषणा–पत्र, सिओल घोषणा–पत्र तथा माल्टा घोषणा–पत्रको भावना अनुसार कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकूद, बैकिङ्ग, पर्यावरणीय क्षेत्रहरूमा सामूहिक लगानी गर्ने र त्यसका निम्ति अन्य लगानी सम्बन्धी विभिन्न परियोजनाहरूसँग साझेदारी गर्ने,
४. अन्तर्राष्ट्रिय झापाली समाजको आफ्नै भवन निर्माणका लागि पहल गर्ने,
५. माल्टा घोषणा–पत्र अनुसार अन्तर्राष्ट्रिय झापाली समाजको आर्थिक भविष्य सुनिश्चितताका लागि छुट्टै अक्षय कोष स्थापना गर्ने कार्यलाई अझ तीब्रता दिने,
६. माल्टा घोषणा–पत्र अनुसार अन्तर्राष्ट्रिय झापाली समाजले प्रकाशन गर्न लागेको ‘संसारमा झापाली’ नामक पुस्तकमा अधिकतम झापालीहरूलाई सहभागी गराउने र यथाशीघ्र भाग–१ प्रकाशन गर्ने,
७. अन्तर्राष्ट्रिय झापाली समाजको संगठन विस्तारका लागि थप राष्ट्रिय समितिहरू गठन गर्न अभिप्रेरित गर्ने र हाल आबद्ध राष्ट्रिय समितिहरूसँगको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने, र
८. झापाली समाज–अमेरिकाले स्थापना गरेको विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने ।
वाशिंगटन घोषणा–पत्रमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव नगेन्द्रप्रसाद पोखरेल (नवीन) र झापाली समाज–अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले हस्ताक्षर गर्नु भएको छ ।


