
दुर्गापुर, ७ बैशाख । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनले यही शैक्षिक सत्र २०८२ देखि ‘क्रियाकलापमा आधारित शिक्षण सिकाई’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
फाउण्डेशनले विद्यार्थीलाई व्यावहारिक र युगसापेक्ष शिक्षा दिने उद्देश्यले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालनमा ल्याइएको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।
विद्यार्थीलाई किताबी ज्ञान भन्दा पनि जीवन उपयोगी शिक्षा दिन जरुरी रहेकाले क्रियाकलापमा आधारित शिक्षण सिकाई पद्धति भित्र्याइएको बताउनुभयो । उक्त कार्यक्रमका लागि नवोदय इनोवेशन सेन्टर हेटौंडासँग सम्झौता गरिएको उहाँले बताउनुभयो ।

अधिकांश विद्यालयका ४० प्रतिशत भन्दा बढी विद्यार्थीलाई पढ्नै नआउने नवोदय इनोवेशन सेन्टर हेटौंडा प्रबन्धक नरेन्द्रकुमार नगरकोटी बताउनुहन्छ । “जबसम्म विद्यार्थीले राम्ररी किताब पढ्न सक्दैन, उसले प्रगति गर्न सक्दैन”, उहाँले भन्नुभयो, “क्रियाकलापमा आधारित शिक्षण सिकाईबाट हामी विद्यार्थीमा पढन संस्कृतिको विकास गर्छौं ।”
क्रियाकलापमा आधारित शिक्षण सिकाइ अन्तरगत पठन संस्कृतिको विकाससँगै पूर्व प्राथमिक तहको रुपान्तरण, गणित सिकाई कक्षा–४ र ५, प्रभावकारी सिकाइ वातावरणका लागि विद्यालय व्यवस्थापन सहजीकरण र फोनिक्सको माध्यमबाट अंग्रेजी भाषा पुस्तकालय व्यवस्थित र प्रभावकारी बनाइने प्रबन्धक नगरकोटीले बताउनुभयो ।
क्रियाकलापमा आधारित शिक्षण सिकाइलाई प्रभावकारी बनाउन फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनले अनुभवी प्रशिक्षक जर्ज म्याथ्युलाई नियुक्त गरेको छ । वर्तमान शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको प्रशिक्षक म्याथ्यु बताउनुहुन्छ । विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न शिक्षामा परिवर्तन जरुरी रहेको उहाँ बताउनुहुन्छ । भारत केरला निवासी जर्ज विगत १५ वर्षदेखि मुलुकका विभिन्न विद्यालयमा क्रियाकलापमा आधारित शिक्षण सिकाईलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लागिपर्नु भएको छ ।

कनकाई ७ दुर्गापुरमा १५ वर्षअघि स्थापना भएको फक्ताङलुङ एजुकेसन फाउण्डेसन विद्यालयमा विद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको छ । अभिभावक तथा विद्यार्थीले रोजे र खोजेको जस्तै गुणस्तरीय शिक्षा विद्यालयले दिने भएकाले उक्त बिद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको हो ।
विद्यालयमा नर्सरीबाट हाल कक्षा १० सम्म पढाई हुने गरेको छ । विद्यालयमा न्युनतम शुल्कमा, डेराभाडा नलाग्ने, आफ्नै घरमा खाएर बसेर शान्त वातावरणमा सर्वसुलभ यातायात, गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि बिद्यार्थी तथा अविभावकहरुको आकर्षण बढेको पाईएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो ।
बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको पाइएको छ ।
विद्यालयमा अनुभवी शिक्षक सुन्दर शान्त व्यवस्थित विद्यालय भवन, छात्र – छात्रा तथा शिक्षकहरुको छुट्टाछुट्टै र सफा शौचालय, खानेपानी, खोजे अनि रोजे जस्तै क्यान्टिनको व्यवस्था, पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि अब्बल भएकै कारण पनि फक्ताङलुङ नै रोजेको अविभावकहरुको भनाइ छ ।
२०६६ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल ४ सय ५० बढी बिद्यार्थी ३० बढी शिक्षक शिक्षिका तथा अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको पाइएको छ । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिता अन्तर्गत धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको पाइएको हो ।
विद्यालयले पढाईका साथसाथै हरेक बिहीवार ईसिए अन्तर्गत किताबमा पढाईएका ज्ञानलाई प्राक्टिकल स्वरुप कला सस्कृतिको जगेर्ना, नृत्य, गायन, नाटकका साथ– साथै विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको विद्यालयका प्रिन्सिपल नेम्वाङको भनाई छ ।
अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो ।
विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक एन्जल पोखरेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले यस अघिपछि विभिन्न समयमा वृक्षा रोपन, विज्ञान प्रर्दशनी, विभिन्न स्थानको सरसफाइ, डस्टबिन वितरण, विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता, धार्मिक एवं पर्यटनक्षेत्रको अवलोकन भ्रमण, विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको पाइएको छ । विद्यालयले केही समय अघिमात्रै अन्तरास्ट्रिय अवार्ड समेत प्राप्त गरेको जनाएको छ ।


