झापा, ७ बैशाख । झापाको दुई भिन्न स्थानबाट प्रहरीले २२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको ती सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल र पाट्स बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको सामानहरु बरामद भएको जनाइएको छ ।
त्यस्तै, शनिबार राति ८ बजे भद्रपुर–९ मा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइँदै गरेको २० कार्टुन मोबाइलको पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ ।अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ बस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।


