
झापा, ९ बैशाख । आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा–१२ को वार्षिक परीक्षाबारे निर्णय लिन आज बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । कक्षा १२ को परीक्षा बैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ।
परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए । उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए ।
विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने–नहुने अन्योल छ । यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ । आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन् । शिक्षकका मागप्रति प्रधानममन्त्री अनुदार देखिएको बेला सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको गन्तव्य नै अनिश्चित बनेको छ ।


