इलाम, ११ बैशाख । जिल्ला प्रहरी कार्यालय इलामले आज इलाम नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले इलाम नगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ पिपल बोटेका सन्तोष भन्ने सन्तवीर तामाङको साथबाट ९६० मिलिग्राम ब्राउनसुगर, इलाम नगरपालिका–६ का २९ वर्षीय नानु भन्ने विजय नेम्बाङ लिम्बूको साथबाट १.९३० ग्राम ब्राउन सुगर, इलाम सन्दकपुर गाँउपालिका–४ माबुका ३० वर्षीय चेतबहादुर गुरूङको साथबाट ३६० मिलिग्राम ब्राउनसुगर, इलाम नगरपालिका–७ का २७ वर्षीय सुप्रिम देवान र इलाम नगरपालिका–८ जिरोमा गाडी ग्यारेज सञ्चालन गर्ने झापाको बिर्तामोड नगरपालिका–५ का ३१ वर्षीय रोहित आलम रहेका छन् ।



