झापा, १३ बैशाख । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर महानगरपालिका–५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र. १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।
दाङ घोराही उपमहानगरपालिका–१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा १ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका–३ बस्ने ६० वर्षीय ताइसन तामाङको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जाँदै गरेको म १ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशव ठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सिराहाको बरियारपट्टी गाउँपालिका–४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स १ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यी सबै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


