
झापा, १४ बैशाख । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने प्रदर्शन हिंसात्मक बनेको थियो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको बताएका छन्। अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले कायरता देखाएको आरोप लगाएका छन्। ‘सरकारले देखाएको कायरताको भत्सर्ना गछौँ, आन्दोलन गरिरहेको समयमा शिक्षकहरुममाथि आक्रमण गरियो,’ उनले भने, ‘६२ जना घाइते हुनुहुन्छ , हामी अस्पतालमा नै छौँ।’

चैत्र २० गतेदेखि माईतिघरबाट सुरु हुँदै बिजुलीबजार पुलसम्म हुने शिक्षकहरुको प्रदर्शन शान्तपूर्ण हुने गरेको थियो। शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको थियो। शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको थियो।
शिक्षकहरुले प्रर्दशनमा घुसपैठ भएको दाबी गरेका छन्। शनिबार शिक्षकहरुबीच नै कुटाकुट समेत भएको थियो।
यसैबीच, शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न बानेश्वर पुगेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो । उनको दुवै आँखामा गम्भीर चोट लागेको छ । कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो ।

