पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
गएराति लु ३ च २३७७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पाल्पाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति १०ः१५ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।
दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ भने जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन् ।
घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए । उनीहरुको लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


