झापा, १६ बैशाख । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पाथीभरा देवी दर्शन केबलकार कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो ।
कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयबासीका सरोकारका केही विषयमा पहिचानका लागि युवा लगायत विभिन्न स्थानीय सङ्घ–संस्थाहरूले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।
कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर परियोजना निर्माणको क्रममा रहेको बताउँदै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराएको छ ।


