झापा, १६ बैशाख । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–५ स्थितबाट ना. ५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका(५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका–३ स्थितबाट प्र १–०२–००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारेसँगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका–९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ ।
गाँजा बोकेको २ वटा सवारी साधनसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


