भद्रपुर, १६ बैशाख । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले विक्रम सम्बत् २०८१ (सन् २०२४)का विभिन्न विधाका सम्मान तथा पुरस्कारहरु घोषणा गर्दै यही बैशाख २० गते समर्पण गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह (डब्लु.एच.आर)’ काठमाडौंलाई प्रदान गरिने छ । एक लाख एक हजार एक सय एघारको सो पुरस्कार लगायतका सबै सम्मान र पुरस्कार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हस्तान्तरण गरिने छ ।
त्यसैगरी, जनही एक लाख एक हजार एकसय एघार राशिकै ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ राजनीतिक बीटको पत्रकारिताबाट करियर शुरु गरेर विगत २० वर्षअघि क्रियाशील बिनु सुवेदीलाई, ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ असमान सामाजिक मान्यताका कारण भइरहेका बालबालिका बीचका असमानताका विरुद्ध सामाजिक चेतना फैलाउन गरेका प्रयासका लागि २ जना बालबालिका (हेलम्बुकी सदीक्षा पण्डित र काठमाण्डौंका त्रिदेव पौडेल)लाई प्रदान गरिंदै छ ।
यस अघि नै २०८१ सालमा अन्य सामाजिक गतिविधि तर्फ ‘श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार’बाट भारत दार्जीलिङका ७७ वर्षीय साहित्यकार डा.जस योञ्जन प्यासीलाई एकाउन्न हजार एक सय एघार राशि सहित, ‘श्रीप्रसाद–अम्बिकादेवी ओली स्मृति उत्कृष्ट समाजसेवा पुरस्कार’ ओली वंश अक्षय कोष काठमाडौंलाई ४ लाख र झापा जिल्ला बिर्तामोड निवासी उमानाथ ओलीलाई पुरस्कृत गरिएको छ ।
साथै, गत पूसदेखि माघसम्ममा झापा जिल्लाका सामुदायिक विद्यालयहरूका एवम् शारीरिक अशक्तता भएका बालबालिका पढाउने विद्यालयहरू समेतका ५८५ जना बालबालिकाहरूलाई ट्रयाक सूट, स्टेशनरी सामग्रीहरू र विपन्न आर्थिक अवस्थामा रहेका अभिभावकहरू समेतलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।


