नेपालगन्ज, १७ वैशाख। आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको हुँदा उनीहरूलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएपछि सो घट्नाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएकोले दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको बताए।
उनले मृतक कुशलका हजुरबा आमाले पनि सौतेला बुवा योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव जमिनमुनि गाडेर घटना लुकाउन खोजेको भन्दै प्रहरीमा निवेदन दिएको बताए ।
दुबै जनाले मिलेर बालकको हत्या गरेर शव गाडिसकेपछि आएर प्रहरीलाई वैशाख ८ गते बालक हराएको भनि जानकारी गराएको तर खोजतलासमा कुनै चासो नदेखाएकोले उनीहरूमाथि शङ्का लागेको र अनुसन्धान गर्दा उनीहरुले नै घटना गराएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीले ती दुबै जनालाई जिल्ला अदालत बाँकेमा पेस गरेर पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताए।
कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव गाडिएको अवस्थामा बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा जमिनमुनि गाडिएको अवस्थामा सोमवार बेलुकी भेटिएको थियो ।
गाई भैँसी चराउन गएका गाउँका वृद्धहरूले नौलापुरमा सडेको दुर्गन्ध पाएपछि हेर्दा बालकको खुट्टा जमिनमुनिबाट बाहिर निस्किएको देख्दा स्थानीय जनप्रतिनिधिलाई खबर गरेको र जनप्रतिनिधिले प्रहरीलाई खबर गर्दा बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बालकका बुवाको मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसँग दोस्रो विवाह गरेकोले ती बालक उनीहरूसँगै कोहलपुरमा बस्दै आएका थिए ।


