बिर्तामोड, १७ बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्ने भएको छ ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले यही बैशाख २० गते झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट नागरिक सम्मान समर्पण कार्यक्रमबारे जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले योग्यभन्दा योग्य व्यक्ति छनोट गरेर नागरिक सम्मान समर्पण गर्न लागेको बताउनुभयो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।
सामाजिक रूपान्तरणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको साहसिक कार्यको सम्मान स्वरुप प्रतिष्ठाने रू एक लाख एक हजार रुपैयाँसहितको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्न लागेको उहाँले बताउनुभयो ।
आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको एक करोड रुपैयाँको अक्षय कोषमार्फत नागरिक सम्मान प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । पछिल्लो समय बैंक ब्याजदर घटे पनि प्राप्त हुने ब्याज पुरस्कार प्रदान गर्न पर्याप्त हुने उहाँले बताउनुभयो । उहाँले सबैको सहयोगबाट कार्यक्रम सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले विगत २०५५ सालदेखि नै प्रतिष्ठानले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तिहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको बताउनुभयो । २०५५ सालदेखि प्रतिष्ठानले एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पुरस्कृत गर्दै आएको समेत स्मरण गर्नुभयो ।
प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यक्रम बिर्तामोडस्थित ग्रीनफिल्ड स्कुलको प्राङ्गणमा हुने उहाँले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत वर्ष आदर्श नागरिक सम्मानबाट नेपाली हाँस्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी स्वस्तिका आचार्यले गर्नुभएको थियो ।


