झापा, १८ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिले ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभाग हरिहरभवन ललितपुरलाई अख्तियारले पत्र काटेको हो ।
गत चैत ३१ गते अख्तियारले विभागलाई काटेको पत्रमा भनिएको छ– “जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफू खुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको भन्ने समेत व्यहोराको यस कार्यालयमा दर्ता भएको उ.द.नं. १२–००५३०९, मिति २०८१÷०४÷१६ को उजुरीको सम्बन्धमा सम्मानित आयोगमा पेश हुँदा देहाय बमोजिम कृषि विभाग, हरिहरभवन ललितपुरलाई आवश्यक कारबाहीको लागि लेखी पठाउने भन्ने आयोगको मिति २०८१÷१२÷३१ को निर्णय अनुसार अनुरोध छ ।”
अख्तियारले कोटेको पत्रमा ‘कृषि बजार व्यवस्थापन समितिले खरिद गर्दा खरिद कानूनको पूर्ण रुपमा पालना नगरेको, बिल भर्पाईहरु भुक्तानी दिँदा समितिले अनुमोदन गरेको नदेखिएको, अन्य जे–जति भए गरिएका कार्यहरु प्रायजसो बजार व्यवस्थापन समितिको निर्णय बिना गरिएको सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नु गराउनुहुन’ उल्लेख छ ।
यता, कृषिथोक बजार व्यवस्थापन समिति पूर्वअध्यक्ष कमल पौडेलले विभागले सत्य–तथ्य छानबिन गरेर अनियमितताबारे स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । अख्तियारमा उजुरी पर्दा कृषिथोकको विकासका लागि चालू आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट समेत अन्योलमा परेको उहाँको भनाइ छ ।
“कृषि थोकको विकास लागि छुट्टिएको करिब साढे पाँच करोड अन्योलमा परेको सुनेको छु”, उहाँले भन्नुभयो, “विभागले सही गलत छुट्याएर बजेटको अन्योलता हटाउन जरुरी छ ।” यो घटनाले कृषिथोकको विकासमा असर पर्ने हो कि भन्ने कृषिथोकको विषयमा चासो राख्नेहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।


