बिर्तामोड, २० बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले आज पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्दैछ ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले आज झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो ।
भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।
सामाजिक रूपान्तरणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको साहसिक कार्यको सम्मान स्वरुप प्रतिष्ठाने रू एक लाख एक हजार रुपैयाँसहितको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो । कार्यक्रम बिर्तामोडस्थित ग्रीनफिल्ड स्कुलको प्राङ्गणमा हुने रकार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने यसअघि पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।
गत वर्ष आदर्श नागरिक सम्मानबाट नेपाली हाँस्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।


