चन्द्र बस्नेत
कनकाई, २१ बैशाख । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा कनकाई–३ का ३० जना छात्राका लागि ३ महिने कम्प्युटर तालिम सुरु गरिएको छ ।
वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत वडाका १३ वटै टोलबाट सहभागिता हुने गरी ३० जना छात्रालाई ३ महिने कम्प्युटर तालिम दिन शुरु गरिएको हो । तालिमको आइतबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । तालिमका लागि कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई कम्प्युटर इन्स्टिच्युटसँग सहकार्य गरिएको आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई संस्थाकी अध्यक्ष पुष्पा भट्टराई कडेलले जानकारी दिनुभयो ।
सहभागीहरुलाई इन्स्टिच्युटमा प्रशिक्षक प्रवेश घिमिरेले प्रशिक्षण दिने छन् । तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई–३ का वडाध्यक्ष युवराज चौलागाईंले प्रशिक्षार्थीलाई प्राप्त अवसरको सही सदुपयोग गर्दै सीप सिक्न सुझाव दिनुभएको थियो । उहाँले यस्ता तालिम वडाले मात्रै नभई नगर तथा विभिन्न विद्यालयसहित संघ–संस्थाको समन्वयमा पनि दिन जरुरी रहेको बताउँदै यस्ता तालिमका लागि आगामी दिनमा समेत बजेटको व्यस्थापन गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कनकाई–३ का वडा सदस्य गोविन्द सुवेदी, उद्योग वाणिज संघ प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष शिवकुमार कडेल, सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधान लगायतले वडाको प्राप्त अवसरलाई सही सदुपयोग गर्दै सिप सिक्न सुझाव दिनुभयो । उहाँहरुले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
केन्द्रकी अध्यक्ष भट्टराईले प्राप्त अवसरलाई निरन्तरता दिँदै जतिसक्दो बुझेर मात्रै अगाडि बढन आग्रह गर्नुभयोे । उहाँले सिक्ने कुरामा प्राक्टिकल संगसंगै थेउरी पनि सिक्न सुझाव दिनुभयो । नेपाल सरकारको स्वामित्वमा रहेको निरक्षरलाई साक्षरता बनाउने उद्देश्यले २०७० सालमा कनकाईमा स्थापना भएको सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले समाज परिवर्तनका लागि यस्ता विभिन्न तालिमहरु निरन्तर दिँदै आएको उहाँले बताउनुभयो ।
यसअघि केन्द्रको आयोजनामा कनकाई–१ मा १ महिने मन्टेश्वरी तालिम, कनकाई–६ मा उद्घोषण तथा माइन्युट लेखनका साथै क्षमता अभिबेद्धि तालिम समेत दिएको संस्थाकी कोषाध्यक्ष ममता सुवेदी सेडाईले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा सदस्य अनिलकुमार गोयल, सहकार्य युवा क्लबका अध्यक्ष सुमन कार्की, कनकाई कम्प्युटर इन्टिच्युटका व्यवस्थापकद्वय डिल्लीराम घिमिरे, वडाका टोल संयोजक तथा प्रतिनिधि, वडाका महिला समूहका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायत ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।
उपस्थित सबैलाई संस्थाकी उपाध्यक्ष मुनादेवी सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लीलादेवी प्रसाईंले गर्नुभएको थियो ।


