नेपालगञ्ज, २१ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गरी उपचारको दायरा विस्तार गरिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचार समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने गरी उल्लेख गरिएको बताउनुभयो । उहाँले बीमा प्रणालीलाई व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरू बीमा प्रणालीमा जोडिने पनि बताउनुभयो ।
उहाँले बिमालाई सर्वसुलभ गराउन बिमितहरुले बीमा गरेको महिना दिनबाटै सेवा पाउने बताउनुभयो । यसअघि बीमा गरेको तीन महिनापछि मात्रै बिमितले सेवा लिन पाउने प्रावधान रहेको थियो । उहाँले स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवा, सातै प्रदेशमा सघन जलन उपचार सेवा, मुटु रोग विस्तार लगायतलाई सरकारले प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले सरकारी अस्पतालमा चिकित्सक र नर्सिङ जनशक्तिको अभाव रहेको भन्दै त्यसलाई लोक सेवा आयोगमार्फत समाधान गर्ने गरी सरकार अघि बढेको समेत बताउनुभयो । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


