
झापा, २२ बैशाख । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट सर्पको विषलाई निष्क्रिय पार्ने औषधि (एन्टिभेनम) तयार गर्ने दाबी गरेको छ ।
यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् ।
अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ ।
जनावरहरूमा गरिएको परीक्षणले फ्राइडको रगतमा पाइने एन्टिबडीहरूले सर्पको विषका धेरै घातक प्रभावविरुद्ध सुरक्षा प्रदान गरेको पत्ता लगाएको हो । फ्राइडको १८ वर्षको मिसनले सबै प्रकारका सर्पको टोकाइका लागि एन्टिभेनम विकास गर्न महत्त्वपूर्ण हुन सक्ने देखिएको छ । एजेन्सी



