भद्रपुर, २२ बैशाख । झापाको भद्रपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
गएराति ९ः३० बजे मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर–२ का ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो ।
स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।


