कचनकवल, २३ बैशाख । कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि लक्षित गाउँटोलस्तरीय ‘लागुऔषधविरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन वडा नं. ६ स्थित सिंगीमारीको दुर्गा मन्दिर भवनमा सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले समाजमा लागुपदार्थ दुर्व्यसनको समस्या भयावह बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा अभिभावकको डरले सन्तान सम्हालिन्थे, तर आज बाउ–आमाले आफ्नै छोराछोरीबाट डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।”

उपाध्यक्ष भट्टराईले लागुपदार्थको कुलतबाट समाजलाई जोगाउन समुदायका आमाहरू सशक्त र जागरूक हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “आमाले नै छोराछोरीको सबै गतिविधि नजिकबाट नियाल्न सक्छन्, त्यसैले यो अभियान आमा लक्षित गरिएको हो । समुदायमा पुगेर आमासँग प्रत्यक्ष भलाकुसारी गर्दै सचेतना फैलाउने उद्देश्य यो कार्यक्रमको मुख्य आधार हो ।”
कार्यक्रम सञ्चालक उमेश मिश्रले आजको सहभागिता हेर्दा महिलाहरूको भूमिका प्रभावकारी देखिएको बतानुभयो। उहाँले भन्नुभयो, “अब समुदायस्तरमै सचेतना फैलाउन सकिने छ।” कार्यक्रममा महिला, स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत जागेश्वर यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सुनिता दाहाल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेल तथा सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बबिता काफ्लेले राख्नुभएको थियो ।
प्रशिक्षक सोमराज ढकालले ‘लागूपदार्थ सामाजिक समस्या हो’ भन्ने मूल सन्देशका साथ प्रशिक्षण दिनुभएको थियो । उहाँले लागुपदार्थको परिभाषा, प्रकार, प्रयोगका कारण र असरबारे विस्तृत जानकारी दिँदै महिलाहरूले घरमै रहेर दुर्व्यसन नियन्त्रणमा गर्न सक्ने भूमिका र व्यावहारिक उपायहरूबारे चर्चा गर्नुभयो ।
करीब १०० जना महिलाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले विषयवस्तु उपयोगी र समयसापेक्ष रहेको र गाउँपालिका स्तरमै सुधार केन्द्र तथा परामर्श केन्द्र स्थापना गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । भोलि कार्यक्रम वडा नं. ७ स्थित डुगडुगीमा सञ्चालन हुनेछ भने पालिका भित्रका १० स्थानमा कार्यक्रम सञ्चालन गरिने कार्यक्रम सञ्चालक मिश्रले जानकारी दिनुभयो ।


