
भद्रपुर, २४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले यहाँका युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको छ ।
युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारीको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यहाँका ७० जना युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको नगरपालिकाकी सामाजिक विकास अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो ।


चैत ९ गतेदेखि नायब सुब्बा पदका लागि ५० दिने तयारी कक्षा धमाधम भइरहेको उहाँले बताउनुभयो ।
युवालाई रोजगार बनाएर स्वदेशमै टिकाउन लोकसेवा कक्षा सञ्चालन गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको भनाई छ । तालिमले यहाँका युवालाई प्रशासनिक क्षेत्रमा रोजगार बन्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको अवसरबाट भरपुर लाभ लिन उहाँले आग्रहसमेत गर्नुभयो ।
चन्द्रगढीस्थित विरेन्द्र माविमा कक्षा सञ्चालन भइरहेको छ । नगरपालिकाले गत वर्ष सञ्चालन गरेको लोकसेवा तयारी कक्षा सहभागी भएर लोकसेवा आयोगबाट नाम निकाल्न सफल भएका ३ जनालाई सम्मान समेत गरिएको सामाजिक विकास अधिकृत राउतले बताउनुभयो ।

