
राजेश ढुंगाना
२००७ सालको जनक्रान्ति पश्चात् हालसम्म नै मुलुकको प्रथम राजनीतिक शक्ति रहेको नेपाली कांग्रेसले यतिबेला आफ्नै नेतृत्वको असक्षमता र नियतका कारणले सान्दर्भिकता नै समेत गुमाउँदै जाने खतरामा पुगेको छ । यति बेला एक कांग्रेस आफ्नै आदर्श र विचारबाट च्यूत मात्र भएको छैन, संगठनात्मक रुपले समेत ध्वस्त भएको देखिन्छ ।
नेतृत्वमा राष्ट्र कसरी बनाउने भन्ने भिजन त देखिएन, देखिएन । मात्र पार्टी नै समेत कसरी चलाउनु पर्छ भन्ने न्यूनतम सोचको पनि अभाव रह्यो । भातृ संगठनहरूका अधिवेशन हुन सकेको छैन अथवा आफ्नो प्रतिकूल हुने आशंकामा नेतृत्वले नियतवश नै गराएको छैन । यसरी सैद्धान्तिक, वैचारिक र संगठनात्मक तीन वटै हिसाबले कांग्रेस छिन्नभिन्न भएको छ ।

नेतृत्वकै कारणले इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्ताहरू सम्पूर्णमा किनाराकृत मात्र भएका छैनन् – कांग्रेस पार्टी स्वार्थी समूहको गठबन्धन मात्र हुन पुगेको छ । सानोतिनो प्रयासले मात्र कांग्रेस अब सम्हालिन सक्ने अवस्थामा छैन । लोभी–पापीहरूले निहीत स्वार्थपूर्ति गर्ने साधन बनाएर कांग्रेसको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्वत्वको चीर हरण गरेका छन् ।
बितेका केही वर्ष यता कांग्रेसमा यही भइरहेको छ – सिद्धान्त र आदर्शप्रति इमान्दार एवम् बफादार कार्यकर्ताहरू कांग्रेसभित्र धुरुधुरु रोएर बसेका छन् । सिंगो प्रजातान्त्रिक तप्का र जनसमुदाय, जो कांग्रेसप्रति आस्थावान थिए, यतिबेला कांग्रेससँग निराश छ । कांग्रेसको आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा यस्तो अप्रिय स्थिति यस अघि शायदै कहिल्यै आएको थियो । अर्थात्, नेतृत्वका कारणले आदर्श र वैचारिक रुपले सिद्धान्तनिष्ठ कार्यकर्ता गुमाएको मात्र छैन – प्रजातन्त्रवादी तप्काको स्वाभाविक जनसमर्थन समेत गुमाएको छ ।
लामो समयदेखि कांग्रेसको नेतृत्व विचार, सिद्धान्त र संगठनप्रति भन्दा सत्तामुखी भएको छ । केन्द्रमा सत्ता र केवल सत्ता मात्र राखेपछि त्यसै पनि विचार, सिद्धान्त, आदर्श र संगठनको तेजोबध हुनु अत्यन्त स्वाभाविक हो । नेतृत्वको अर्जुनदृष्टि जसरी पनि सत्ता हत्याउने र सत्तामा पुग्ने एक मात्र उद्देश्य एवम् लक्ष्य भएपछि त्यो संगठनको विचार, आदर्श र संगठन मर्नु नै थियो, म¥यो ।
माओवादीसँग चुनावी गठबन्धन गर्नु जस्तो भूल केवल सत्ताप्राप्तिका लागि मात्र थियो । सैद्धान्तिक र वैचारिक रुपले यो अनुचित र प्रत्युत्पादक मात्र थिएन, संगठनात्मक विचलन पनि सावित भयो । चैते कांग्रेस बाहेक पुराना, वैचारिक र आदर्शप्रति प्रतिबद्ध तथा इमान्दार कार्यकर्ताहरू धुरुधुरु रोएका थिए – ‘रुख’ चिन्हलाई लात मारेर हँसिया–हतौडामा भोट हाल्नु पर्दा । र, चुनावी गठबन्धन मात्र नभएर माओवादीसँगको सत्ता–सहयात्रा पनि कांग्रेसका लागि प्रत्युत्पादक नै रहन गयो ।
माओवादीसँगको अप्राकृतिक गठबन्धन टुट्नु नै थियो र टुट्यो पनि । त्यसपछि एमालेसँगको सहयात्रा र गठबन्धनको अर्को एउटा अप्राकृतिक यात्रा शुरु भएको छ– कांग्रेसको । अन्ततः यो यात्रा पनि कांग्रेसका लागि वैचारिक र संगठनका हिसाबले घोर अनर्थ हुने पक्का छ । निकटतम प्रतिद्वन्दी एमालेसँगको गठजोड, त्यो पनि उसकै नेतृत्वमा, कांग्रेसले आउँदो निर्वाचनका लागि समेत कांग्रेसका लागि ठूलो र गम्भीर क्षति सावित हुने पक्का छ । एक जना देउवाको सत्ताप्राप्तिका लागि कांग्रेसले विचार, सिद्धान्त, निष्ठा, आदर्श र संगठन मात्र होइन; आफ्नो वर्तमान र भविष्य समेत गुमाएको छ ।

