झापा, २५ वैशाख । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका–९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कास्की, पोखरा महानगरपालिका–१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका–३ स्थित सडक छेउमा सोही नगरपालिका–२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रौतहटको माधवनारायण नगरपालिका–१ स्थित सडक पेटीमा राजपुर नगरपालिका–४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया र कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका–१२ तिल्की बस्ने ६० वर्षीय घुम्मन राना मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
बुधबार र बिहीबार भएका उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


