
बिर्तामोड, २५ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।
संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष सजितकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा संघको ऐतिहासिक प्रथम महाधिवेशनको खुला सत्र सम्पन्न भएको हो ।
कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कदर–पत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, निर्वाचन समितिका संयोजक गोपाल लामिछाने, वैदेशिक रोजगार व्यवसायी महासंघका केन्द्रय सदस्य कृष्ण ढकाल, संघका झापा सल्लाहकार संयोजक भानुप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी बिजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका प्रथम उपाध्यक्ष अजयकुमार देव स्वागत गर्नुभएको कार्यक्रममा द्वितीय उपाध्यक्ष कर्ण पौडेलले औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव सीपी पाठकले गर्नुभएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको संघ गत २०८१ साउन २ गते विधिवत रुपमा संस्था दर्ता भएको संघका अध्यक्ष पन्धाकले बताउनुभयो ।
देशभरमा म्यानपावरको शाखा कार्यालय स्थापना हुने क्रमसँगै व्यवसायीहरुको हकहितका लागि झापाका वैदेशिक रोजगार व्यवसायी संगठित भएका थिए । सोही क्रममा जिल्लामा भानुप्रसाद शिवाकोटीको अध्यक्षता तथा धनबहादुर पन्धाक उपाध्यक्ष रहेको तदर्थ समिति गठन भएको थियो ।
करिब १३ वर्षको प्रयासपछि संस्था दर्ता ऐन २०३४ को अधिनमा रहेर संघ गठन गरिएको संघका अध्यक्ष धनबहादुर पंधाकले बताउनुभयो ।
झापामा १५० म्यानपावर कम्पनीका शाखा कार्यालय रहे पनि हालसम्म १०५ वटा मात्र संघमा आबद्ध रहेका छन् ।



