बितामोड, २६ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । बिहीबारदेखि सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्क प्रालिको सहजीकरणमा तालिम सुरु भएको हो । तालिममा विभिन्न वडाबाट ३५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । लेखनसीपबारे सहजीकरण गरिने कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोशिएसनका अध्यक्ष बसन्त नेपाल, अधिवक्ता कोपिला अधिकारीले तालिमको सहजीकरण गर्ने न्यायिक समिति बिर्तामोडकी उजुरी प्रशासक टिकामाया लामिछानेले जानकारी दिनुभयो ।
बिर्तामोड नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले लेखनसीप पश्चाप नगरको न्याय सम्पादन थप प्रभावकारी हुने बताउनुभयो । उहाँले कतिपय प्राविधिक ज्ञानको कमिले भइरहेका कठिनाईहरुलाई यो तालिमले समाधान गरिदिने जानकारी दिदैं मेलमिलापकर्ताहरुलाई तालिमबाट भरपुर ज्ञान आर्जन गर्न आग्रह गर्नुभयो । बिर्तामोड नगरपालिका न्याय सम्पादनमा पनि अग्रभागमा रहेको बताउँदै उहाँले नगरवासीहरुको सहजताका लागि मेलमिलापकर्ताहरुलाई लेखनसीप तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।


