कनकाई, २८ बैशाख । झापाको कनकाई नगरपालिका वडा नं. १ ले यहाँका अपाङ्गता तथा फरक क्षमता भएका परिवारलाई झुल वितरण गरेको छ ।
कनकाई–१ स्थित सुन्दरकाली मिलिजुली समूहसँगको समन्वयमा वडाले ६० परिवारलाई झुल वितरण गरेको हो । कनकाई–१ का कार्यवाहक अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानको विशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले समाजको सर्वाङ्गिण विकासका लागि सबै क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । नेपालको संविधान र स्थानीय शासन सञ्चालन ऐनको अधिनमा रहेर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

“समाजलाई अगाडि बढाउन, उठाउनका लागि सबैका खालको विकासलाई सँगसँगै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “त्यो विकासका लागि लक्षित वर्गमा पर्ने हाम्रो जनसमुदायको आर्थिक, सामाजिक सबै क्षेत्रमा सहयोग गर्न जरुरी छ, त्यसका लागि काम गरिरहेका छौं ।” तीनै तहको सरकारले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको विकासका लागि काम गरिरहेको बताउनुभयो ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा अपाङ्गता रोकथाम, सहजीकरण, सबलीकरणको काम भइरहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमको समापन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको विकासका लागि नगरले काम गरिरहेको बताउनुभयो । आगामी दिनमा समेत उनीहरुको दैनिकीमा सहजता आउने, आत्मनिर्भर बन्ने खालका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख पोखरेल, प्रमुख प्रशासकीय अधिकृत न्यौपान, कार्यवाहक अध्यक्ष थापा लगायतले झुल वितरण गर्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै वडाले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई विभिन्न तालिम प्रदान गरिसकेको बताउनुभयो । “उहाँको चौतर्फी विकासका लागि काम गरिरहेका छौं”, उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा सदस्य हरिकुमार राई, सुन्दरकाली मिलिजुली समूहका अध्यक्ष लीलावल्लभ सापकोटा, सचिव समिता बुढाथोकी, अपाङ्गता स्वावलम्बन कनकाई नगर अध्यक्ष पुष्पराज घिमिरे, सुस्त मनस्थिति सरोकार केन्द्र कनकाई–१ की अध्यक्ष शान्ता पोखरेल, वडा सचिव सदिक्षा निरौला, कर्मचारी निर्मला बानियाँ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।


