झापा, २९ बैशाख । आइतबार बेलुका पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झापा मेचीनगर नगरपालिका वडा नं. १५ गाइनाबारी स्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्री लगायत २–३ जनाले सामुहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावा हुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको र सोही ठाँउमा जडान गरेको १ वटा सीसी टीभी क्यामेरा समेतमा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै, वर्षासँगै आएको हावा हुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्ता पाता पुर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बाङ्गिएर क्षती भएको छ । उक्त स्टोर हलको भित्र रहेको ५५–६० बोरा फापर समेत पानीले भिजेको छ भने करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
यस्तै, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदिप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तिन कोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
यसैगरी, हावाहुरीले दमक नगरपालिका–४ संगम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथीको तलाको सिडी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छ भने सोही स्थानकमा ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिलो तलाको दुई वटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


