झापा, २९ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाण–पत्र वितरणसँगै उनीहरुलाई सथप ग्रहण गराएको हो । निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । निर्वाचन समितिले निर्वाचनमा प्रयोग गरिएका सम्पूर्ण कागजात नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेको छ ।

नवनिर्वाचित समितिले सपथ ग्रहण गरेसँगै निवर्तमान सचिव सीपी पाठकले नवनिर्वाचित सचिव निरकुमार खत्रीलाई संघको माइन्युट हस्तान्तरण गर्नुभएको थियो । माइन्युट हस्तान्तरण अघि निवर्तमान सचिव पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने त्यसपछि नवनिर्वाचित सचिव खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित समितिले निर्वाचन समितिलाई प्रशंसा पत्र प्रदान गरेको थियो । नवनिर्वाचित अध्यक्ष धनबहादुर पंधाकल निर्वाचन संयोजक गोपाल लामिछाने, सदस्यद्वय नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेललाई कदरपत्र प्रदान गर्नुभएको थियो ।
निवर्तमान प्रथम उपाध्यक्ष अजयकुमार देवले स्वागत मन्तव्य राख्नुहुँदै नवनिर्वाचित समितिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पूर्वाञ्चल दैनिकका व्यवस्थापक नवनिर्वाचित समितिलाई बधाइ दिनुहुँदै सञ्चार क्षेत्र र वैदेशिक रोजगार व्यवसायी बीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान द्वितीय उपाध्यक्ष कर्ण पौडेलले बधाई ज्ञापन गर्नुहुँदै कार्यकाल सफल एवम् रचनात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धनबहादुर पंधाकले प्रतिबद्धता मन्तव्य राख्नुहुँदै स्वास्थ्य बीमा, व्यावसायिक कर्जा, व्यवसायी राहत कोष लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । संघको निर्वाचनमा कोही पनि नहारेको बताउनुहुँदै उहाँले कोही छनोटमा परेको र कोही छनोटमा नपरेको उल्लेख गर्नुभयो । सबैको साथ र सहयोगले सामूहिक हितको पक्षमा संघले काम गर्ने उहाँले बताउनुभयो ।
गत बैशाख २७ गते भएको संघको ऐतिहासिक प्रथम अधिवेशनले अध्यक्षमा धनबहादुर पंधाक र सहसचिव सरिता बराल सर्वसम्मत चयन हुनुभएको थियो भने उपाध्यक्षमा प्रकाश राई र राजन सिलवाल, सचिवमा निरकुमार खत्री, कोषाध्यक्षमा कृष्ण खतिवडा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, सदस्यमा ओमप्रकाश भट्टराई, कृष्णमाया तामाङ कुसुम, टंक सिटौला, देवेन्द्रप्रसाद प्रसाईं, पुष्पराज प्रसाईं, प्रेम निरौला, राजेन्द्र पौडेल, लुमनकुमारी निरौला निर्वाचित हुनुभएको थियो भने हितेष अग्रवाल र दुर्गादेवी सुब्बा लिम्बूको बराबर मत प्राप्त भएसँगै आधा–आधा कार्यकाल रहने गरी निर्णय भएको थियो ।


