झापा, ३० बैशाख । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ।
गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको उनले बताए । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको छ।
यता, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको बिहानैदेखि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्।


