राजेश ढुंगाना
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समेत बारम्बार मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको कुरा बताइरहनु भएको छ । सत्ताधारी दलकै वरिष्ठ नेता कोइरालाले सरकारलाई लगातार रूपमा सचेत मात्र गराइरहेका छैनन्– खबरदारी नै गरिरहेका छन् । त्यसो त कोइरालाले ‘कांग्रेस सत्तामा छ, सरकारमा छैन’ पनि भनेकै हो । यसरी हेर्दा कांग्रेस कार्यकर्ताको ठूलो पंक्ति एमालेसँगको सहकार्यप्रति प्रारम्भदेखि नै सन्तुष्ट छैन भन्ने देखिन्छ । जसलाई नेता कोइरालाले आफ्नो वाणी दिएका हुन् ।
हुन पनि कांग्रेस पहिलो पार्टी भएर पनि एमालेको नेतृत्वमा राख्ने आत्मघाती निर्णय देउवाबाट भएपछि स्वाभिमानी कांग्रेस कार्यकर्ताले असहज महसूस र असन्तुष्ट हुनु स्वाभाविक नै हो । सरकारमा गएपछि सरकार त एमालेकरण भयो नै – सिंगो कांग्रेस पार्टी नै एमालेकरण हुने खतरा तर्फ उन्मुख छ ।



यही भएर होला, पछिल्लो पटक भर्खरै नेता कोइरालाले फेरि पनि सार्वजनिक रूपमै ‘कांग्रेसले एमालेसँग संयन्त्र बनाएर गरिएको सहयात्रा तोड्नु पर्दछ’ समेत भनेका छन् । अर्थात्, कांग्रेसभित्र एमालेसँगको सहयात्रा एक वर्ष पनि नपुग्दै निल्नु न ओकल्नु भएको छ । सरकारको चरम एमालेकरण भएर आउँदो बजेटमा पनि एमालेकै गन्ध आउने मात्र होइन, बजेट एमालेमय हुने पक्का छ ।
सबै नियुक्तिहरूमा एमालेको वर्चश्व छ । एमालेको भागमा नपर्ने देखिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद बेवारिस छ । एमाले बरू त्यसलाई खाली राख्न तयार देखियो, तर सितिमिति कांग्रेसको भागमा नपरोस् भन्ने खेलमा छ । त्यसो त राष्ट्र बैंकको गभर्नर मात्र होइन, कुनै पनि पदमा पार्टीको भागबण्डा गरेर राजनीतिकरण गर्नु मुलुकका लागि अत्यन्त ठूलो दुर्भाग्य हो । त्यसमाथि पनि गभर्नर पदलाई अरबौंको लिलामीमा राखिएको सार्वजनिक रूपमै बहस हुनु अत्यन्त खेदजनक विषय पनि हो ।
कांग्रेस सरकारमा एमालेबाट हेपिएर, चेपिएर मात्र बस्नु परेको छैन; त्यो हेपाइ र चेपाइबाट कांग्रेस कार्यकर्ता निराश र आक्रोशित छन् । अरू पदको के कुरा गर्नु ? स्वयम् मन्त्री हटाउने र राख्ने कुरामा एमालेको एकल निर्णय देखियो । जलस्रोत राज्यमन्त्री तामाङको बर्खास्तगी यसैको प्रमाण हो । संयुक्त सरकारमा अर्को दलले पठाएको प्रतिनिधिलाई प्रधानमन्त्रीको एकल निर्णयले बेइज्जतिपूर्वक हटाउन मिल्छ ? हटाउनै पर्ने भए पनि सम्बन्धित दलले फिर्ता बोलाउनु पर्ने होइन ?
नौ महिनासम्म एमाले नेतृत्वको सरकारले मुलुकका कुनै एउटा समस्या हल गर्न सकेन मात्र होइन, बरू समस्याका चाङ दिनप्रतिदिन थपिंदै गएको छ । जनतामा चरम निराशा र आक्रोश चुलिंदै गएको छ । यसकारण आउँदो समयमा वर्तमान सरकारमा सामेल भएकै कारण अलि–अलि भएको जश एमालेले लिने र सम्पूर्ण अपजश जति कांग्रेसको भागमा पर्ने निश्चित छ ।
अर्थात्, एमालेसँगको वर्तमान सत्ता–सहयात्रामा एमाले कुनै पनि दिन कांग्रेसलाई दोषको जिम्मा दिएर सेफ ल्याण्डिङ तर्फ अग्रसर हुने छ । त्यसो त सत्ता छाड्नु पर्दा बरू संसद् नै विघटन गर्नेसम्मको असंवैधानिक र अनैतिक काम गर्ने ओलीले देउवालाई सहजै सत्ता सुम्पने कुरामा झिनो आशा समेत गर्न सकिंदैन । त्यति बेला, अहिले डेढ वर्षपछि सत्तारोहण गर्ने कांग्रेसको, विशेषतः देउवाको सपना पूर्ण रूपमा तुहिने छ ।
यी सबै तथ्यका बीच कांग्रेसले समयमै ओलीबाट सचेत भएर क्रमशः एमालेकरण हुँदै गएको आफ्नो पार्टीलाई मुक्त गराउन सकेन भने देउवाको सत्ता प्राप्तिको खेलमा कांग्रेसले आफ्नो स्वपहिचान र अस्तित्व गुमाउने छ । र, फेरि पनि एमालेकै टेको र बैशाखीमा उसले बाँकी भविष्य गुजार्नु पर्ने छ । त्यो पनि अहिलेको जस्तो पहिलो दलको रूपमा होइन; दोस्रो, तेस्रो वा कतिऔं स्थानको दलको रूपमा ।


