कनकाई, ३० बैशाख । झापाको कनकाईस्थित सुरुङ्गा सोकला थानमा येलेदोङ्ग ५०५८ उभौली साकेला पूजा गरिएको छ ।
किरात राई यायोक्खा कनकाई नगर समितिको आयोजनामा सुरुङ्गा साकेला थानमा उभौली साकेला पूजा गरिएको हो । कार्यक्रम नगर समिति अध्यक्ष अर्जुनकुमार राईको अध्यक्षता तथा झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा भएको हो ।
शिक्षा संस्कार संस्कृति जगेर्ना गरे हुन्छ सम्पूर्ण जातीय उन्नती भन्ने नाराका साथ आयोजित उभौली साकेला पूजामा किरात विधि अनुसार पूजापाठ, जातीय नृत्य लगायतका कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एलपी साँवा लिम्बू, विशिष्ठ अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस नेता देउकुमार थेवे, प्राडा पृथ्वीविक्रम राई, किराया जिल्ला सदस्य हिरण्यकुमार राई, कनकाई–२ का वडाध्यक्ष बलराम राई, इप्रका सुरुङ्गाका प्रमुख आ.के. दाहाल लगायतको आतिथ्य रहेको थियो ।
उभौली पर्व, प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू, अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जस्को अर्को नाम “साकेला पर्व” पनि हो। आजको दिनदेखि यस पर्व, वा उभौली पर्व लाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एक सातासम्म मनाउने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि एक महिना भर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ।
किराँत समुदायले धुमधाम सँग मनाउने उभौली पर्वलाई, पृथ्वीमा “कृषियुग” सुरु भएदेखि नै मनाउदै आइएको एक पर्वको रुपमा मनाउने गर्ने गरिन्छ। र, यस पर्वको पहिलो दिन “चण्डी नाच” नाच्ने चलन छ, जुन नाच द्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ।
यसरी “चण्डी नाच” नाचिने पर्व भएकोले, यस पर्वको पहिलो दिनलाई “चण्डी पूर्णिमा” भनेर पनि चिनिन्छ र यो चाड बैशाखको “बुद्ध पुर्णिमा” को दिनमा पर्दछ। तर, किराँत समुदायहरूले धेरै समय अगाडी देखि मनाउँदै आएको यस चाड कुन समय वा कहिले देखि मनाउन शुरु भएको हो भन्ने बिषयमा कुनै सटिक प्रमाण अझै फेला परेको भने छैन।
किराँत समुदायले यस दिनलाई “सुम्निमा” अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गर्दछन् यसै कारण यो पर्व सांस्कृतिक दृष्टिले समेत पनि अत्यन्तै महत्वपूर्ण रहेको छ। किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली पर्व÷ चाडलाई महान चाडका रुपमा मनाउने गर्दछन्।


