बिर्तामोड, ३० बैशाख । झापा थ्रीएक्सथ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ ।
झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने उक्त प्रतियोगिता अन्तरगत सोमबार राति भएको फाइनल खेलमा विभागी टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो ।
निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गर्यो । जितसँगै टाइम्सले नगद २ लाख र आकर्षक ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले नगद १ लाखमा चित्त बुझाएको छ । टाइम्सकै श्रेयसबहादुर शाह बेस्ट प्लेयर बने । आर्मीले सेमिफाइनलमा झापा बास्केटबल एशोसिएशनलाई २१(६ को फराकिलो स्कोरले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।
यस्तै, टाइम्सले धरान सुनसरीको इमोर्टलसलाई १९–१४ स्कोरमा रोक्दै उपाधि नजिक पुगेको थियो । झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा देशभरका १६ वटा प्रतिष्ठित टोलीहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टिमलाई प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेन, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।


