झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा आज जिल्ला सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उहाँले बताउनुभयो ।
भिडियो समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/jhapaonlineportal/videos/661995503346435
झापामा विकराल बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, दुर्घटना लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने उहाँको भनाइ छ । अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री वितरण, सडक बालबालिका लगायतको नियन्त्रण र नियमनका लागि सुझावसँगै प्रहरीको भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।
सञ्चारकर्मीको प्रश्न तथा जिज्ञासाको जवाफ दिनुुहुँदै प्रहरी प्रमुख लिम्बूले प्रहरीको एकल प्रयासले भन्दा पनि सबैको साथ र सहयोगले जिल्लामा सुव्यवस्था कायम गर्न सकिने बताउनुभयो ।


