सन्तोष शर्मा
झापा, ३१ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालित छन् ।
चालू आर्थिक वर्षमा सडक कालोपत्रे, सिञ्चाई, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका २९ वटा योजना सञ्चालनमा रहेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।
“वडाको विकासका लागि संघ र प्रदेश सरकारमा कार्यक्रम लिएर धाइरहेको छु”, वडाध्यक्ष वाग्लेले भन्नुभयो, “आवश्यकता धेरै छन्, प्राथमिकताका आधारमा काम भइरहेको छ ।” कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय योजना सम्पन्नको चरणमा रहेको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ ।
वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ । सिञ्चाईका लागि एक दर्जन पैनी–खोलामा संघ, प्रदेश, गाउँपालिका र वडाको बजेटबाट ‘क्यानल’ निर्माण भइरहेको उहाँले बताउनुभयो । वडाको लक्ष्मी–विरिङ पैनीको मुहान क्षेत्र संरक्षणका लागि संघ र प्रदेशको बजेटबाट ‘बिग बोल्डर’ निर्माण गरिएको उहाँले बताउनुभयो ।
लागत सहभागितामा जोड
व्यावसायिक कृषिलाई जोड दिँदै आएको वडाले लागत सहभागितालाई प्राथमिकतामा राखेको छ । माग अनुसार ५० प्रतिशत लागत सहभागितामा तीन सय ५० जना कृषकलाई फलामे हलो, एक चक्के ठेला, स्प्रे ट्यांकी, टनेल, सिञ्चाइ मोटर वितरण गरिएको छ ।
“कृषकको माग र अपेक्षा धेरै छन्”, बजेटको सीमा रहेको बताउनुहुँदै वडाध्यक्ष वाग्लले भन्नुभयो, “लागत सहभागितामार्फत कृषकको माग अनुसार कृषि सामग्री वितरण गरिरहेका छौं ।” माटो सुधारका लागि कृषिकले मागे जति कृषि चुन निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।
सुपारी खेती प्रशस्त रहेकाले घुसुवा बाली प्रबद्र्धन अन्तरगत मरिच खेती गर्न चाहने कृषकलाई वडाले मरिचको बिरुवा वितरण गर्न लागेको छ । पशुपालक कृषिकलाई प्रोत्साहितका लागि कृषकबाट रू एक सय र वडाको रू तीन सय लगानीमा गाई–भैंसीको कृत्रिम गर्भाधान सेवा प्रदान गरिँदै आएको छ । वडाले बाह्रमासे कटहर र फलफूलका बिरुवा समेत वितरण गरेको छ ।
गोबर ग्याँसका लागि १० हजार
कृषकको आम्दानी बृद्धिमा सहयोग पुर्याउने उद्देश्यले गोबर ग्याँस प्लान्ट निर्माणका लागि रू १० हजार अनुदान दिने गरिएको छ ।
गत आर्थिक वर्षमा २९ वटा र चालू आर्थिक वर्षमा २१ वटा गरी ६ घनमिटरको ५० वटा गोबर ग्याँस प्लान्ट निर्माण भइसकेको वडा सदस्य लक्ष्मी कडेंलले जानकारी दिनुभयो ।
गोबर ग्याँस प्लान्ट निर्माणका लागि संघीय सरकारले प्राविधिक सहयोगसहित चुल्हो, पाइप लगायतका आवश्यक सामान प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । “कामदार र निर्माण सामग्री कृषकले व्यहोर्नुपर्छ”, उहाँले भन्नुभयो ।
ग्याँस प्रतिस्थापनको प्रयास
भान्साबाट सिलिण्डर ग्याँस प्रतिस्थापन गर्नु साथै भान्साको खर्च कटौती गराउने उद्देश्यले वडाले विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिरहेको छ । यो वर्ष दुई सय ४० घरपरिवारलाई रू तीन हजार दुई ७० पर्ने विद्युतीय चुल्हो वितरण भइरहेको वडा सदस्य मोहनकुमार राईले बताउनुभयो । जसमा ५० प्रतिशत लाभग्राहीले व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।

वडाको रू ७४ लाख, वडा गौरव अन्तरगत रू ३० लाख र वडाबासीसँगको ७०/३० लागत साझेदारीमा रू २४ लाख गरी कूल रू एक करोड २८ लाख वडाको बजेट रहेको वडा सचिव लोकमाया बानियाँले जानकारी दिनुभयो ।
गत स्थानीय तह निर्वाचनबाट वडाध्यक्ष अनिल वाग्ले, वडा सदस्य लक्ष्मी कडेंल, मोहनकुमार राई, तुलसा खतिवडा रेग्मी र सुमित्रा रसाइली निर्वाचित हुनुभएको थियो ।


