बिर्तामोड, ७ जेठ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीलाई यस वर्षको पोशाक वितरण सुरु गरेको छ ।
वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले २ जना छात्र र २ जना छात्रालाई पोशाक लगाइ दिएर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।



नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ देखि हरेक वर्ष पोशाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गरिने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।
अभिभावकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देशयले विद्यालय पोशाक वितरण गरिँदै आएको उहाँले बताउनुभयो । विद्यार्थीमा एकरुपता ल्याउन पोशाक महत्वपूर्ण रहेको भन्दै नगर प्रमुख प्रसाईंले विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन शिक्षक र अभिभावकलाई सुझाव दिनुभयो ।
यस्तै, वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईले अंग्रेजी माध्यमबाट पढाई हुने भएकाले सामुदायिक विद्यालय पनि नीजि विद्यालय भन्दा कम नभएको धारणा राख्नुभयो । यस्तै, नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले नगरपालिकाले प्रदान गरेको पोशाकको सदुपयोगसँगै बालबालिकाको सरसफाईमा ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभयो ।
पोशाक वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगीता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यपक गुरुप्रसाद घिमिरेले गर्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


