सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा चौबिसेका २० वर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र. १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको छ ।
लागुऔषधसहित छ जना पक्राउ
यसैबीच, धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान ११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू, १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर र धरान–१९ का १८ वर्षीय अनिस मगर रहेका छन् ।
हिजो राति वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो । लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।


