
भद्रपुर, १४ जेठ । झापाको भद्रपुर नगरपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा आज बिहान सरसफाई गरिएको छ ।
गणतन्त्र दिवस–२०८२ को अवसरमा जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा सरसफाइ कार्यक्रम गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले सरसफाई कार्यक्रम शुरु भएको जनाएसँगै सरसफाई गर्न थालिएको थियो । किचकबध धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
“पुरातात्विक महत्वको यो थलोमा २२ वर्ष पुरानो संरचना फेला परेको छ”, उहाँले भन्नुभयो, “यसको विकासमा लाग्नु हामी सबैको दायित्व, नगरपालिकाले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।”
किचकबधको विकासका लागि डेलिगेशन लिएर जाँदा पर्यटन मन्त्रीले यस पटक बजेटमा समेट्ने आश्वान दिनुभएको नगरप्रमुख पोखरेललेको भनाइ छ । “केन्द्रबाट बर्सेनि ५÷१० लाख आउने उत्खनन् हुने अनि अर्को वर्ष पर्खिनु पर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “एकै पटक सबै उत्खनन् गरेर विकास गरेर लैजाने योजनामा छौं ।”
सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, झापा प्रहरी प्रमुख राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल गण नं. २ हेडक्वाटर झापाका प्रमुख तुलबहादुर भण्डारी, भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नेपाली सेना, स्काउट, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा गत जेठ ११ गते गणतन्त्र दिवस मनाउने सन्दर्भमा बसेको बैठकले जेठ १४, १५ र १ ६ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज बिहान किचकवधमा सरसफाई गरिएको हो । आजै जिल्ला प्रशासन कार्यालय झापा पसिररमा बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान कार्यक्रम गरिएको छ भने भोलि जेठ १५ गते बिहान प्रभात फेरि कार्यक्रम आयोजना गरिने जनाइएको छ ।


