बिर्तामोड, १५ जेठ । रोटरी क्लब अफ बिर्तामोडले क्लब स्थापनाको १५ औं स्थापना दिवस (चार्टर डे) अन्तरगत क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झन्दै मनाएको छ ।
क्लबले चार्टर डेको प्रथम चरणमा बिर्तामोडको विराटपोखरस्थित विराट भरत विश्रान्ति आश्रममा विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरु रोपण गरेको छ। संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
दोश्रो चरणमा बिर्ताबजार चोकस्थित दुर्गा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ५२ वर्षको अल्पायुमा निधन भएका पूर्वअध्यक्ष बस्नेत मानवीय सेवाको भावको सम्मान गर्दै आयोजित रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड पठाइएको कार्यक्रम संयोजक संजेश शिवाकोटीले बताउनुभयो ।

क्लबका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा भएको संक्षिप्त औपचारिक कार्यक्रम संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता र वडा नं. ३ का अध्यक्ष मदनकुमार बुढाथोकीको विशेष आतिथ्य रहेको थियो। रक्तदान कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।
दुर्गा मन्दिर पूजा समिति र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संचालन क्लबका शैलेन्द्र कुरूम्वाङले र धन्यवाद ज्ञापन मन्दिरका अध्यक्ष बासुदेव माझीले गर्नु भएको थियो ।


