भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व–२०८२ आज हर्षोल्लासका साथ मनाइएको छ ।
किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित साकेला भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । प्रारम्भिक समितिका अध्यक्ष रंगवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्य रहेको थियो ।
साकेला भूमेथानको पूर्वाधार निर्माण समिति संयोजक नीरबहादुर राईले निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चका बारेमा जानकारी दिनुभयो ।
येले सम्बत् ५०८५ समेतको शुभकामना आदान–प्रदानसमेत गरिएको कार्यक्रममा प्रमुख अतिथि गणेश राई, विशिष्ट अतिथि किरात राई विद्यार्थी संघ केन्द्रीय सदस्य आयुष राई, मेचीनगर नगरपालिकाका–२ का वडाध्यक्ष दीपक बराल, जिल्ला सल्लाहकारद्वय तेजकुमार राई, समर राई, जिल्ला उपाध्यक्ष केवल राई, जिल्ला सहसचिव सन्देश राई, किरात राई यायोक्खाका मेचीनगर प्रतिनिधि धनकुमार खालिङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमा जिल्लाका विभिन्न स्थानबाट आएका ११ वटा टोलीले साकेला सिली प्रस्ततु गरेका थिए । हल्दिबारी–१, हल्दिबारी–२, कचनकवल, काँकरभिट्टा, भद्रपुर, पृथ्वीनगर, मेचीनगरको फडाँनी, अर्जुनधारा, सुमो डान्स सेन्टर सगरमाथा र बिर्तामोडका टोलीले उत्कष्ट साकेला नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साकेला टोलीलाई सम्मान–पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।
प्रारम्भिक समिति सचिव टिका साम्पाङ राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष बुद्धिराज राईले गर्नुभएको थियो ।
प्रकृति पुजक किराँत समुदायले प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि शुरु भई एक महिनासम्म उभौली पर्व मनाउने गरेको सञ्चारकर्मी धर्म राईले बताउनुभयो ।
उभौली पर्व नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । उभौली पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिना भर मनाइने उभौली पर्व बसन्त ऋतुमा पर्दछ ।
किराँत समुदायले धुमधामसँग मनाउने उभौली पर्वलाई, पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि नै मनाउँदै आइएको एक पर्वको रुपमा मनाउने गर्ने गरिन्छ । र, यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जुन नाचद्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ ।
यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले, यस पर्वको पहिलो दिनलाई ‘चण्डी पूर्णिमा’ भनेर पनि चिनिन्छ र यो चाड बैशाखको बुद्ध पुर्णिमाको दिनमा पर्दछ ।


