झापा, १८ जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित दुई दिवसीय सहकारी व्यवस्थापन, क्षमता अभिबृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ ।
झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजनामा जेठ १६ गतेदेखि शुरु भएको दुई दिने तालिम शनिबार समापन भएको हो । सहकारी संस्थाका ४६ वटै सेवा केन्द्रका व्यवस्थापक, सञ्चालक समिति, व्यवस्थापन तह, अन्य समिति तथा उप समितिका कर्मचारी तथा पदाधिकारीहरुको क्षमता बृद्धिका लागि तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ लाई लक्षित गरी संस्थाको नीति नियममा रहेर जोखिम रहित कारोबार गरेर संस्थालाई माथि उठाउने उद्देश्य अनुरुप सबैलाई एकैठाउँमा राखेर तालिम दिइएको बताउनुभयो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका रजिष्ट्रार हरिबहादुर खत्री, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका वरिष्ठ अधिकृत मनोज कार्कीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सहभागीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै जारी गरेको मापदण्डको बारेमा पनि जानकारी प्रदान गरिएको थियो । सिए श्रीप्रसाद निरौलाले एनएफआरएसका सूचकका बारेमा र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाका कर अधिकृत डोरबहादुर सुनुवारले कर प्रणालीका विभिन्न सूचकका विषयमा अवगत गराउनुभएको थियो ।


