झापा, २३ जेठ । बिहीबार उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जना गोताखोरको खोजी तीव्र पारिएको छ ।
उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउदको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्धार तालिम शिक्षालय कुरिन्टार चितवनबाट पाँच जना गोताखोर खटिएका छन् ।
उनीहरुको खोजी तथा उद्धारका लागि कुरिन्टारबाट अनुभवी प्रशिक्षक तथा डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु गएराति पौने ११ बजे कुरिनटारबाट गएका हुन् ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र डिएसपी थापाका अनुसार बेपत्ता जवानहरुको उद्धारका लागि गएका डीएसपी भण्डारी २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका थिए । उनी नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमै गएर भन्न सकिने बताएका छन् ।


