झापा, २३ जेठ । झापाको कनकाई नगरपालिका–८ स्थित दुर्गापुरबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।
नक्कली नोटसहित मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाबाट गत जेठ १८ गते पक्राउ परेका तेह्रथुमको फेदाप गाउँपालिका घर भई हाल कनकाई–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारतीको कोठाबाट नक्कली नोट बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आफैँले घरमा नक्कली नोट बनाउने गरेको बयान दिएपछि प्रहरीले भारती बस्दै आएको डेराकोठाबाट नक्कली नोट छाप्ने गरेको मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका चार बट्टा रंग, कागज लगायतका सामान र प्रमाणहरु फेला परेको उहाँले बताउनुभयो ।
प्रहरीले जेठ १८ गते मेचीनगर–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडि नजिकैबाट रू एक हजार दरको एक सय वटा नक्कली नोटसहित भारती परेका थिए । उनको डेराकोठामा तलासी लिँदा रू पाँच लाख ३० हजार छ सय ८० बराबरको विभिन्न दरको नोट फेला परेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
प्रहरीले रू एक हजार दरको नेपाली नक्कली चा सय ७० थान, रू पाँच सय दरको दुई सय ८२ थान, रू एक सय दरको एक सय ९० थान, रू ५० दरको १२ थान र रू २० दरको चार थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


